काठमाडौं (अस) । नेपाल वायुसेवा सञ्चालक संघ, नेपालले नेपालका हेलिकोप्टर कम्पनीहरूले कोभिड उद्धार उडानका नाममा बढी पैसा लिएको भन्ने सम्बन्धमा आफ्नो ध्यानाकर्षण बताएको छ । संघका सदस्य वायुसेवा सञ्चालक कम्पनीका पाइलट, इञ्जिनीयर लगायत कर्मचारी आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै संक्रमितको उद्धारमा खटिएको भन्दै संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको नीति नियममै रहेर उडान गरिरहेको उल्लेख गरेको छ ।
संघले ३ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको दरभाउ अनुसार एएस ३५० हेलिकोप्टरहरू प्रतिघण्टा १५ सय अमेरिकी डलर र रोबिन्सन्स हेलिकोप्टरहरू प्रतिघण्टा १ हजार अमेरिकी डलर शुल्क उडान गर्दै आएको जानकारी गराउँदै हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको बताएको छ । ‘कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा उडानमा खटिने पाइलट लगायत कर्मचारीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, थप बीमा, हेलिकोप्टरको सेनिटाइजेशन, कीटाणुशोधन लगायत गर्नुपर्ने र यसका लागि मेडिकल टोली प्रयोग गर्नैपर्ने हुँदा सामान्यभन्दा बढी उडान समय लाग्ने र कोभिड उद्धार उडान गर्दा प्रतिउडान थप १ लाख ५० हजारभन्दा खर्च आउने गर्छ,’ संघद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
वायुसेवा कम्पनीले प्राधिकरणको नियन्त्रण एवं निगरानी र संघको समेत निगरानीमा रहेर उडान गरिरहेको भन्दै संघले चर्को मूल्य नलिइएको दाबी गरेको छ । साथै सम्बन्धित उद्धार उडान कम्पनीमा सीधै सम्पर्क गरी सेवा लिन समेत संघले अनुरोध गरेको छ । यस्तै कहीँ कतै बढी रकम लिएको वा गलत गरेको लागेमा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा सम्पर्क गरी गुनासो एवं जानकारी गराइदिन आग्रह गरेको छ ।