चितवन । चितवन मेडिकल कलेज (सीएमसी) र होटल व्यवसायी संघ, चितवनबीच छूटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार संघका सदस्यले स्वास्थ्य उपचारमा २० प्रतिशत र फार्मेसीमा सात प्रतिशत छूट पाउने भएका छन् । त्यस्तै, सीएमसीका कर्मचारी र विद्यार्थीले कार्ड देखाएमा होटल व्यवसायी संघले २० प्रतिशत छूट दिने सम्झौता भएको छ ।
उपचार तथा सेवा छूटको विषयमा सिएमसी र संघबीच हालै सम्झौता भएको हो । सम्झौतापत्रमा सीएमसीका तर्फबाट प्रमुख प्रशासक प्रताप देवकोटा र संघका तर्फबाट सदस्य एवम् स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्यालले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता आगामी २०८२ असार ३० गतेसम्म लागू हुने बताइएको छ । उपचार तथा फार्मेसीमा छूट सुविधा लिने संघ र मातहतका शाखाले सेवाग्राही तथा सर्वसाधारणले स्पष्ट देख्न सक्ने ठाउँमा ‘मेडिकल पार्टनर चितवन मेडिकल कलेज’ लेखिएको बोर्ड राख्नुपर्ने बताए ।
सम्झौताअनुसार छूट सुविधा सडक दुर्घटना लगायतका प्रहरी मुद्दा, सीएमसीले सिधै खरिद गर्ने सामग्री, ओपीडी र इमर्जेन्सी टिकटमा लागू नहुने सम्झौता पत्रमा उल्लेख छ ।