बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन ।
“कुवाकै पानी लिन जाँदाजाँदै वर्षौँ बितिसक्यो”, इन्द्रकलाले भन्नुभयो, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ ।” कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताले घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ । उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गर्नुभयो । “गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौँ”, हुमबहादुरले भन्नुभयो, “बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौँ, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ ।” पुस, माघमा अत्यधिक हिउँ पर्ने का