तत्कालीन ओली सरकारको नारा नै रेल र पानी जहाज थियो । ओलीले यही भाषण गरेर निर्वाचनमा बहुमत ल्याएका थिए । त्यसैले राजनीतिक नारा पूरा गर्ने नाममा यी दुई कुराका लागि राज्यले व्यर्थको खर्चको भारी बोक्नु परेको छ ।
कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याइएको थियो । गतवर्ष असोज २ गते भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको थियो । एक अर्बको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिएको १ वर्षपछि पनि सञ्चालनमा आउने भने कुनै छाँटकाँट देखिँदैन ।
रेल सेट जनकपुरधाम ल्याइँदा उत्साहित हजारौंको भीड रेलवे स्टेशनमा जम्मा भएको थियो । रेलमा १३०० सीट क्षमता छ । लगभग १ अर्बको लागतमा किनिएको ती रेल सेटहरू ट्रायलपछि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखियो । पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको छ । इन्जिनमा खिया लाग्न थालेको छ । यसको सञ्चालनमा ढिलाइ भए चलाउँदै नचलाई मरम्मत गर्नुपर्ने हुन्छ । साथै रेल नगुड्दा ठाउँ ठाउँमा रेलवे लिकका क्लिपहरू समेत चोरी भइरहेका छन् । यसरी हतारमा रेल ल्याउनुको प्रयोजन के हो त ? चलाउन नसक्ने रेल ल्याएर १ अर्ब खेर फाल्नु जनताले तिरको करको दुरुपयोग हो । एक सयभन्दा बढी कर्मचारी पालेर यसका हाकीमले ठूलो तलब खाएर जनताको करको दुरुपयोग भएको छ । यसरी विनायोजना र तयारी रेल किन्नु भ्रष्टाचार नै हो भन्न सकिन्छ ।
कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था छैन । कानून बनाउने काम सरकरको हो र त्यसलाई संसद्ले पारित गर्ने हो । तर, सरकारले अत्यावश्यक कामै नगरी प्रचारबाजीका लागि यसो गरेको देखिन्छ । त्यसो त प्रचारकै लागि निर्माण सम्पन्न नभएको धराहरा र मेलम्चीको समेत उद्घाटन गरेर ओलीले प्रचारको मोह देखाएकै हुन् ।
भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या भइरहेको बताइन्छ । भाडा निर्धारण, यात्रु बीमा, दुर्घटना लगायतका विषयमा समेत निर्णय भएको छैन । रेल सञ्चालन हुनेबित्तिकै कानूनको आवश्यकता हुन्छ । तर, संसद्बाट यो पास भइरहेको छैन । रेल ल्याउने ओलीको पार्टी प्रतिपक्षमा छ र उसले संसद् चल्न दिइरहेको छैन । यसरी एमालले दोहोरो रूपमा गलत काम गरेको देखिन्छ ।
रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोंकण रेलवे कम्पनीले केही साता अगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको समाचार पनि आएको छ । सम्झौताअनुसार नेपाल सरकारले रकम भुक्तानी नगरेको भन्दै कोंकणको भनाइ छ ।
नेपालको रेलको ब्रोडगेज इन्जिन आइरहेको समाचार सुनेलगत्तै सर्वसाधारणमा उत्साह देखिएको थियो । त्यसले रेल भित्रिँदा हजारौंको संख्यामा सर्वसाधारण जम्मा भएका थिए । अब रेल गुड्ने आशा फेरि निराशामा परिणत हुन थालेको स्थानीयको भनाइ छ । जनताले तिरको करबाट किनिएका यति महँगो रेल त्यसै थन्किएको छ तर कसैलाई चासो छैन । त्यसो त नेवानिले वाइडबडी जहाज ल्यायो त्यो पनि नउडेको बसेको छ । चीनबाट ल्याएका ६ ओटा साना जहाज नउडेको वर्षौं भयो । यस्ता अनगिन्ती विकृति छन् । कर्मचारी छन्, कार्यालय छ, तलबभत्ता खान्छन् तर जिम्मेवारीअनुसार काम गर्दैनन् । मुलुकको अर्बौ लगानी खेर फाल्छन् । अर्र्बाैंको आर्थिक लाभको अवसर गुमिरहेको छ । देशको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ तर कसैलाई लज्जाबोध पनि छैन । त्यसैले यी सबै काम भ्रष्टाचार हुन् र यस्ता भ्रष्टाचारीलाई कारबाही गर्नैपर्ने छ । जनताले अरूथोक गर्न नसके पनि बहिष्कार त गर्न सक्छन् नि ? अब पनि जनता जाग्ने बेला भएन र ?
ओम त्रिपाठी
ट्यांग्लाफाँट, कीर्तिपुर ।