आफ्नो राष्ट्रको हित सोच्नेबाहेक कुनै पनि राष्ट्रको छुट्टै परराष्ट्र नीति हुँदैन भनिन्छ । परराष्ट्र नीतिको उद्देश्य भनेकै घरेलु स्वार्थ प्रवद्र्धन गर्नु हो । तथापि शक्ति राष्ट्रहरू भने त्यसभन्दा पर सोच्ने गर्छन् र संसारमा आफ्नो प्रभाव फिँजाउन चाहन्छन् । अमेरिका, रुस, चीन, युरोपेली सङ्घ आदिले त्यसै गरेका छन् । अब नजिकको छिमेकी भारत आक्रामक रूपले विश्व राजनीतिमा छाउन थालेको छ । आफ्नो मात्र हित हेर्ने वा एकलकाँटे राष्ट्र अन्तर्राष्ट्रिय मञ्चमा हराउन थालिसकेका छन् । आफू र आफ्ना गुटका माध्यमबाट सधैँ जागरुक र क्रियाशील राष्ट्रहरूको आवाज नै विश्वमञ्चमा बढी सुनिन्छ ।
संयुक्त राज्य अमेरिकाको विदेश नीतिका चार लक्ष्यमा पूरै लक्ष्य वैदेशिक प्रभावका लागि लक्ष्यित देखिन्छन्, जस्तो कि अमेरिका र अमेरिकी तथा आफ्ना समूहको रक्षा, अन्तर्राष्ट्रिय स्रोतसाधन र बजारमा पहुँच, वर्तमान शक्ति सन्तुलनको संरक्षण तथा प्रजातन्त्र र मानवाधिकारको रक्षा लक्ष्यमा सबै विषयमा आफ्नो प्रभुत्व कायम गर्ने, आफ्ना गुटका राष्ट्रलाई कहीँ कतै अप्ठेरो पर्ने बित्तिकै बोलिहाल्ने वा पुगिहाल्ने गर्छन् । तेल, ग्यासजस्ता स्रोतसाधनका लागि इराकजस्ता देशमा आक्रमण र विश्वका सबै देशमा मानवाधिकार र प्रजातन्त्रका पक्षका नाममा बोलिरहने नीति उनीहरूको छ । अहिले अमेरिकाका पक्षमा रहेको विश्वको शक्ति डगमगाउन नदिन चीन, रुसजस्ता देशको विपक्षमा रहने नीति पनि अमेरिकाको छ । सन् १९९० तिर आफ्नो विघटनसँगै विश्व महाशक्ति राष्ट्रको श्रेणीबाट झरेको ठानिएको रुसले पनि आफ्नो विश्वमा रहेको प्रभाव केन्द्रमा नै राख्न सुदृढ गर्ने उद्देश्य आफ्नो विदेश नीतिमा राखेको छ । सिरिया युद्धमा सरकारलाई सहयोग गरिरहेको रुस चीनसँग मिलेर अमेरिकासँग टक्कर दिने गरी पूर्वस्थितिमा फर्कने ध्याउन्नमा लागेको छ।