काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश तथा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाटै सुविधा लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्नेछन् ।
ग्राहकले भिडियो अकाउन्ट ओपनिङका लागि बैंकले उपलब्ध गराएको डिजिटल लिंक प्रयोग गर्नुपर्नेछ । ‘एनएमबि बैंकले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ अनुभवमा परिवर्तनको सुरुआत गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन् । यस प्रकारको सेवाले ग्राहकलाई घरमै बसी सहज ढंगले कागजविहीन बैंकिङ सेवा प्रदान गर्छ’, बैंकको विज्ञप्तिमा भनिएको छ । एनएमबि बैंकले द फाइनान्सियल टाइम्स लन्डनको द बैंकर पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि पाइसकेको छ ।