काठमाडौं । यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बिहीवार विभिन्न माग समेटिएको सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।
व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा परेको, करीब ४ लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायीसहित ९ लाख मजदूर चपेटामा परेको उल्लेख गरेका छन् । आफूहरूका समस्याबारे प्रधानमन्त्री कार्यालयसहित सरकारका सबै निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानको प्रयास नभएको भनाइ व्यवसायीको छ । व्यवयासीले यातायात्र क्षेत्रमा कार्यरत मजदूर तथा कर्मचारीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग राखेका छन् । विसं २०६९ यता भाडा वृद्धि नभएको र व्यवसायीले ठूलो नोक्सानी बेहोरिरहेको सार्वजनिक र पर्यटन यातायाततर्फको भाडा समायोजन गरिनुपर्ने माग उनीहरूको छ ।