पुस ११, काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस ३० गते २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १:१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।