समस्यामा कृषि उद्यमी, सरकारले कुरा गर्यो पूरा गरेन

काठमाडौं । उपत्यका वरिपरी तरकारी खेती गरीरहेका किसानले समयमा रसायनिक मल नपाएको गुनासो गरेका छन्। लाखौं लगानी गरेर कृषि व्यवसायमा होमिएपनि राम्रो विउँ नपाउने तथा समयमै मल नपाउने समस्याका कारण उब्जनी कम हभएर घाटा सहन वाध्य भएको उनीहरुको भनाई छ । किसानलाई आवश्यक मल, खाद तथा विउँ राम्रो उत्पादन गर्न राज्यले ध्यान नदिएको भन्दै उनीहरुले आपत्ति जनाए ।

सम्बन्धित सामग्री

‘कृषिको सम्भावना उपयोगका लागि कृषक–निजीक्षेत्र सहकार्य’

वीरगञ्ज । मधेश प्रदेशमा कृषिको सम्भाव्यता उपयोगका लागि किसान र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । कृषि मधेशको समृद्धिको मुख्य आधार मात्र नभएर अर्थतन्त्रको मूल स्तम्भ भएकाले निजीक्षेत्रसँगको सहकार्यले मात्र सम्भावना साकार पार्न सकिने निजीक्षेत्रको ठहर छ । मधेशमा कृषिको सम्भावना अत्यधिक भएर पनि खेतीको क्षेत्रफल घटेकोप्रति वीरगञ्ज उद्योग वाणिज्य संघले चिन्ता प्रकट गरेको छ । कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि किसान र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरले हालै तयार पारेको एउटा अध्ययन प्रतिवेदनले कृषिमा प्रचुर सम्भावना भएर पनि मधेश प्रदेशमा कृषि उत्पादनको क्षेत्रफल घटेको देखाएको छ । मधेशको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनले गत आर्थिक वर्ष (आव) २०७८/७९ मा मधेशमा खाद्य तथा अन्य बाली, तरकारी, बागवानी र फलफूल तथा मसलाखेती गरिएको  क्षेत्रफल ११ लाख ६६ हजार ४९२ हेक्टरबाट ११ लाख ६३ हजार २९ हेक्टरमा झरेको देखाएको हो । राष्ट्र बैंकले आव २०७७/७८ लाई समीक्षा वर्ष मानेर अध्ययन गरेको थियो । कृषिमा आधारित उद्योगमा सक्रिय रहेका गुप्ताले प्रविधि र आर्थिक स्रोतको अभावमा क्षमताअनुसार कृषि उत्पादन फस्टाउन नसकेको दाबी गरे । ‘किसानमा खेतीसम्बन्धी ज्ञानको अभाव, प्रविधिमा पहुँचको कमीजस्ता कारणले मधेशको सम्भाव्यता खेर गइरहेको छ । क्षमताअनुरूप उत्पादन हुन सकिरहेको छैन,’ उनले भने, ‘निजीक्षेत्रलाई किसानसँग जोडेर कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकारले नीतिगत पहल गर्नुपर्दछ ।’ कृषिमा आधारित र कृषिलाई सहयोग पुर्‍याउने उद्योग बन्द हुनु, भारतबाट खाद्यान्नको अवैध आयातजस्ता कारणले पनि मधेशमा कृषिमा सम्भावना उपयोग हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बताए । वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन हुन सकेमा मधेशको कृषिमा उल्लेख्य सुधार आउन सक्ने दाबी अग्रवालले गरे । ‘राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना चलाउने कुरा आएको छ । यो सकारात्मक हो । अब चिनी कारखाना पनि चलाउनुपर्‍यो,’ उनले भने । वीरगञ्जको चिनी कारखाना सञ्चालनका लागि उपयुक्त मोडालिटीमा निजीक्षेत्रसँग सहकार्य गर्न सकिने सुझाव पनि उनले दिए । केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २४ दशमलव ५ प्रतिशत छ । मधेशको जीडीपीमा कृषिको अंश ३४ दशमलव ५ प्रतिशत छ । औसत योगदानको तुलनामा प्रदेशगत जीडीपी १० प्रतिशत बिन्दुले बढी हुनुलाई निजीक्षेत्रले महत्त्वपूर्ण सम्भावना भनेको छ । सहज ढुवानी र बजार भएर पनि कृषिको क्षमता उपयोग हुन नसकेको निजीक्षेत्रको भनाइ छ । कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणको अभाव देखिएको बुझाइ कृषि उद्यमी जगदीशप्रसाद अग्रवालको छ । ‘कृषि पेशामा युवाको आकर्षण कम हुँदै गएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने युवालाई कसरी कृषिकर्ममा लगाउन सकिन्छ भन्नेमा नीति केन्द्रित हुनुपर्दछ,’ उनले भने । भूखण्डीकरणले कृषिमा समस्या आएको बुझाइ उनको छ । कृषिमा सामूहिक र सहकारी खेतीका कुरा निकै भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको दाबी अर्थसामाजिक विश्लेषकसमेत रहेका अग्रवाल गर्दछन् । ‘कृषिलाई उद्यमसँग जोड्न ठूलो परिमाणमा जमीन उपलब्ध हुनुपर्ने र यसका लागि निजीक्षेत्रले जग्गा करारमा लिएर खेतीको अभ्यास प्रभावकारी हुन सक्थ्यो,’ उनले सुझाए । निजीक्षेत्रको आर्थिक क्षमता र किसानको जमीनलाई आपसमा आबद्ध गरेर सम्भावना उपयोग गर्न सकिने उनले बताए । यसका लागि निजीक्षेत्र र किसानसँग सहकार्यको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘मधेशमा एउटा कृषि विश्वविद्यालय र कृषि अनुसन्धान केन्द्रको स्थापना पनि जरुरी छ,’ उनले भने ।