रोल्पामा मापदण्ड विपरितका आइसोलेशन कक्ष सञ्चालनमा

असार ६, रोल्पा । केही दिनअघि डाक्टर सहितको एक टोलीले अनुगमन गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा मापदण्ड विपरित आइसोलेशन कक्ष सञ्चालन गरेको पाइएको छ । स्थानीय तहले चिकित्सक विनै आइसोलेशन सञ्चालन गरेको, संक्रमितलाई कुन बेलामा कस्तो औषधि चलाउने, अक्सिजन कहिले लगाउने र कुन अवस्थामा रिफर गर्ने जस्ता सामान्य तालिम समेत नदिएरै स्वास्थ्यकर्मीलाई आइसोलेशनको जिम्मा दिएको पाइएको हो ।  रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार ओली सहितको अनुगमन टोलीले अनुगमन गर्दा आइसोलेशनले संक्रमितको उपचार भन्दा पनि थप समस्या निम्ताउने गरेको रोल्पा अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताए । ‘यो त एउटा उदाहरण मात्र हो’ डाँगीले भने ‘रोल्पाका अधिकांश स्थानीय तहले मापदण्ड नपुर्‍याएरै आइसोलेशन सञ्चालन गर्दा संक्रमितको उपचारमा समस्या भएको छ ।’ मापदण्ड विपरित सञ्चालनमा आएका आइसोलेशनमा धेरै बेर होल्ड गरेर संक्रमितहरुमा गम्भीर समस्या आएपछि मात्र अस्पताल रिफर गर्दा कतिपयको ज्यानै समेत गएको अस्पतालको भनाइ छ ।  रोल्पा अस्पतालका सूचना अधिकारी समेत रहेका सिनियर अहेब डाँगीले भने ‘स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनले समयमै रिफर गरेको भए ति संक्रमितहरुको ज्यान बच्न सक्थ्यो ।’  रोल्पामा हाल ४३१ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको दोस्रो लहर आएदेखि रोल्पामा १८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित सामग्री

रोल्पामा आइसोलेशन सेन्टर स्थापना

पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ...