असोज १९, विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्ष जनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट गरेकी छन् ।
उद्योग संगठनले अघि बढाएका कार्यक्रमलाई उनले सफलताको शुभकामना समेत व्यक्त गरिन् । संगठनको सचिवालयमा सोमवार आयोजित भेटघाटमा स्विटजरलैण्ड र नेपाल बीच हुन सक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका विषयमा राजदूत क्यापेलरले विचार विमार्श गरेकी थिइन् ।
संगठनले अघि बढाएका कार्यक्रमहरुको प्रस्तुतीकरण सुनिसकेपछि राजदूत क्यापेलरले स्विस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरुसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले विगत आठ वर्षको अवधीमा पहिलो पटक यो स्तरको उत्कृष्ठ प्रस्तुती र कार्यक्रमहरुका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरिन् ।
सो क्रममा उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैंले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धीमुलक नहुने भएकोले यस्का लागि पहल गर्न संगठनलाई आग्रहसमेत गरिन् ।
सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्राउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्विस चेम्बरहरुसँग सहकार्य गर्नका लागि सहजिकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताए ।
साथै अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको कार्यक्रम रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ति उद्योगले नै तयार गर्ने विषयमा संगठन प्रष्ट रहेको उल्लेख गरे ।
सो अवसरमा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय कुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्विस राजदूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।