रू. २० अर्ब ६१ करोड विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ५ महीनामा विदेशी व्यवसायीले नेपालमा २० अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्सिरमा मात्रै २१ ओटा परियोजनाका लागि २ अर्ब २५ करोड रुपैयाँ प्रतिबद्धता आएको छ ।  साउनदेखि मङ्सिरसम्ममा प्रस्तावित १९९ परियोजनाका लागि विदेशी लगानीकर्ताबाट प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार मङ्सिरमा प्राप्त लगानी प्रतिबद्धतामध्ये अधिकांश साना उद्योगका लागि छ । साना १९ र मझौला दुई उद्योगका लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा ठूलो स्केलका उद्योगमा प्रतिबद्धता आएको छैन ।  विभागका अनुसार चालू आवमा तीनओटा ठूला परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ । मझौला ७ र साना स्केलका १८९ उद्योग/परियोजनाको लागि प्रतिबद्धता आएको छ । मङ्सिरमा पर्यटन, सेवा र उत्पादनमूलक उद्योगको लागि मात्रै प्रतिबद्धता आएको छ । विदेशी लगानीका लागि वर्गीकृत कृषि, ऊर्जा, खनिज, निर्माण र सूचना तथा प्रविधि क्षेत्रमा मङ्सिरमा लगानी प्रतिबद्धता नै आएको छैन ।  चालू आवको ५ महीनासम्ममा पर्यटन, सेवा र उत्पादनमूलक क्षेत्रमै विदेशी लगानीकर्ताको रुचि देखिएको छ । विदेशी लगानीकर्ताले सधैंझैं पर्यटन क्षेत्र नै रोजेका छन् । यो अवधिमा पर्यटन क्षेत्रमा ९५ ओटा परियोजनाका लागि लगानी प्रस्ताव आएको छ ।  दोस्रोमा विगतमा जस्तै सेवामूलक क्षेत्र परेको छ । सेवामूलक ७४ र उत्पादनमूलक १० उद्योगको लागि प्रतिबद्धता आएको छ । यस अवधिमा ऊर्जामा लगानी प्रतिबद्धता आएको छैन । कृषि, खनिज, निर्माण, सूचना प्रविधिमा कम प्रतिबद्धता आएको छ । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा चालू वर्षका ५ महीनामा लगानी प्रतिबद्धता क्रमश: बढेको देखिएको छ । गत कात्तिकमा २७ परियोजनाका लागि १ अर्ब ७५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । कात्तिकको तुलनामा मङ्सिरमा परियोजना संख्या कम भए पनि प्रतिबद्धता रकम बढी छ । सरकारले ठूलो लगानी ल्याउने भने पनि उद्योग विभागमा दर्ता र आएको प्रस्ताव हेर्दा अझै पनि साना उद्योगमा लगानी गर्न विदेशी व्यवसायी बढी इच्छुक रहेको देखिएको छ । खासगरी उनीहरू पर्यटन र सेवामूलक क्षेत्रमा इच्छुक छन् ।

सम्बन्धित सामग्री

साढे तीन खर्ब प्रतिबद्धता, सवा खर्ब मात्रै भित्रियो

पचासको दशकदेखि नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन थालेको हो । तर सुरुदेखि नै नेपालमा प्रतिबद्धताअनुसार विदेशी लगानी आउने गरेको छैन । चालु आर्थिक वर्षको पाँच महिनाकै उदाहरण लिने हो भने पनि, १९९ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख ७८ हजार प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ ।

५ महिनामा २२० उद्योगमा २४ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता

२ पुस, काठमाडौं । चालु आर्थिक वर्षको ५ माहिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागकाअनुसार गत साउदेखि मंसिर महिनासम्मको ५ महिनाको अवधिमा १९९ वटा उद्योगमा २० अर्ब ६१ …

आर्थिक सर्वेक्षण ०७९/८०: विदेशी लगानी प्रतिबद्धता ३५ प्रतिशत कम

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३५.४ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता घटेको हो ।

८ महीनामा ३८ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा १३ अर्ब कम

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीको प्रतिबद्धता ३८ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि फागुनसम्ममा ३३ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा चालू आवको सोही अवधिमा २० अर्ब ५६ करोड रुपैयाँको मात्रै यस्तो प्रतिबद्धता आएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ७७ करोड कम अर्थात् ३८.३१ प्रतिशत कम हो ।  चालू आवमा पुसमा धेरै चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता पुसमा आएको छ । उक्त महीनामा ४ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सो आवमा सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता मंसिरमा आएको छ । सो महीनामा ८० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । चालू आवमा १८३ उद्योगका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।  गत आवमा असोजमा बढी गत आवमा भने सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिबद्धता असोजमा आएको थियो । सो महीनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता भने माघमा आएको थियो । उक्त महीनामा ५३ करोड ९५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार हालसम्म ८ हजार ९४७ उद्योगका लागि २७ खर्ब ८२ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यी उद्योगहरूबाट ६ लाख ७० हजार २५५ जनाले रोजगारी पाएको विभागले जानकारी दिएको छ ।  चालू र गत आवको माघ मसान्तसम्मको वैदेशिक लगानीको प्रतिबद्धता   स्रोत : उद्योग विभाग ।