चितवन । उद्योग वाणिज्य संघ, चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छूट दिने भएको छ ।
उद्योग वाणिज्य संघ, चितवनकोे बुधवार (आज) बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा नारायणगढको शहिदचोकमा रहेको व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छूट दिने निर्णय गरेको हो ।
आर्थिक मन्दीका कारण व्यवसायीलाई मर्का परेकोले उद्योग वाणिज्य संघ, चितवनले घरभाडामा लगाउने घरधनीहरूलाई आफ्नो अनुकूलता अनुसार घरभाडामा छूट दिनको लागि यसअगावै अपिल गरिसकेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यापार÷व्यवसायको गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ । जसका कारण बजार क्षेत्रका कैयौं व्यवसायीहरू घरभाडा तिर्न नसकेर सटर खाली गर्दै आएका थिए ।
कोभिड १९ र तत्पश्चात सिर्जित व्यवसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी–व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छूट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीहरूले कम्तिमा यो अवस्था सहज नहुँदासम्मको लागि घरभाडामा केही प्रतिशत छूट दिनुहुन तथा घरबहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीहरूले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नुहुन उद्योग वाणिज्य संघ, चितवनले अपिल गरेको छ । संघको मातहतमा रहेको व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकम समेत छूट दिएको संघले जनाएको छ ।