सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताउनुभएको छ । नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनुपर्छ ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउनेजस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ ।”