यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ ।
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले सो जानकारी दिनुभयो ।
थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उहाँबाट ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मूल आयोजक समितिका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हुने कार्यक्रममा सुरक्षा निकायको बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने गरी तयारी गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।