काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको सेवा पाँच लाख घरधुरीमा पुगेको छ । वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जानकारी दिएको हो ।
नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गरिरहेको कम्पनीको दाबी छ ।
नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत ब्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको दुर्गम क्षेत्रसहित मुलुकभरका ७३ जिल्लामा पुगेको छ ।
वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी र आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । कम्पनीले आव ०७६/७७ मा दसौं ठूलो भ्याट योगदानकर्ताको सम्मानसमेत पाएको थियो ।
वल्र्डलिंक आईसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिब ४ हजार जनाले रोजगारी पाएका छन् । देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरिएको कम्पनीले बताएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो । दैनिक १ लाख ५१ हजारभन्दा बढीले यस्तो सेवा लिँदै आएको कम्पनीले जनाएको छ ।
मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्टलगायत स्थानमा कम्पनीले फ्री वाईफाई दिँदै आएको छ । वर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती कम्पनी सिडीसी ग्रुपको समेत लगानी रहेको छ ।