भदौ १८, काठमाडौं । प्रहरीले ६० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आबी) ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले ६० लाख रुपैयाँ जरिवना गरेपछि फरार रहेका इलामका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम ६० लाख जरिवाना गर्ने फैसलापछि फरार रहेका कट्टेललाई बिहीवार झापाको विर्तामोडबाट पक्राउ गरी शुक्रवार सार्वजनिक गरिएको हो।
पक्राउ परेका उनले आफ्नो सिभिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रहरीले बताएको छ ।