सरकारले कृषक, कृषिकर्म र कृषि उपजको सुरक्षा तथा सम्मानका लागि विभिन्न कार्यक्रम लागू गरेको छ । कृषक परिचयपत्र, पशु तथा बाली बीमा, उत्पादन तथा ढुवानीमा विशेष व्यवस्था गरिएको छ । गत वर्ष गरिएको बन्दाबन्दीमा पनि सरकारले दुग्ध पदार्थ र उत्पादनको ढुवानी तथा बिक्री वितरणलाई निर्वाध बनाएको थियो । दुग्ध पदार्थको ओसार पसारमा हुँदै आएको समस्या दृष्टिगत गर्दै सरकारले हालै दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेको छ । यसबाट यस्ता साधनले एम्बुलेन्स सरहकै सुविधामा आपूर्ति तथा ढुवानी गर्नसक्ने छन् । बन्द, हडताल तथा प्राकृतिक विपद्का बेला यस्ता चिह्न अङ्कित सवारीलाई निर्वाध सञ्चालनको वातावरण मिल्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेपछि यस्तो सहजता मिल्ने देखिएको छ । कृषि तथा सहकारी मन्त्रालयले तय गरेको दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १२ मा अनावरण गर्नुभएको थियो ।