काठमाडौं । घोराही सिमेन्टस इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विक्री आम्दानी र खुद नाफा दुवै घटेको छ ।
गत असार मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव ३३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विक्री आम्दानी घटेको र खर्च बढेकाले खुद नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विक्री आम्दानी ३ दशमलव ६७ प्रतिशत घटेको छ । अघिल्लो आवमा ४ अर्ब ८० करोड रुपैयाँ विक्री आम्दानी गरेको कम्पनीले गत आवमा ४ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ९७ करोड छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्