काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय बस बन्द गर्ने निर्णय गरेको छ । आइतवार विज्ञप्ति जारी गर्दै कम्पनीले सरकारको असहयोगका कारण यस्तो निर्णय गर्नुपरेको गुनासो गरेको छ । विद्युतीय
सवारीसाधन चार्जिङ स्टेशनसँग नेपाल विद्युत् प्राधिकरणले लिँदै आएको डिमान्ड शुल्क हटाउने घोषणा गरेको वर्ष दिन हुन लाग्दा पनि कार्यान्वयन नभएकाले यस्तो निर्णय गर्नुपरेको कम्पनीको भनाइ छ । त्यसअघि सुन्दर यातायातले नेपाल सरकार, विद्युत् नियमन आयोग र प्राधिकरणलाई पटकपटक चार्जिङ स्टेशनसँग लिँदै आएको डिमान्ड शुल्क हटाउन माग गरेको थियो । उक्त माग सम्बोधन गर्दै आयोगले करीब १ वर्षअघि आगामी दिनमा यस्तो शुल्क नलिने निर्णय गरेको थियो ।
तर, आयोगले आफ्नै निर्णय कार्यान्वयन गर्न आनाकानी गरिहेकाले बाध्य भएर चार्जिङ स्टेशनसहित सबै विद्युतीय बस सेवा बन्द गर्ने निर्णय गर्नुपरेको कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार सोमवारदेखि विद्युतीय सार्वजनिक सवारीसँगै अन्य निजी सवारी पनि बन्द हुनेछन् । सरकारको असहयोगका कारण सवारीसाधन नै बन्द गर्नुपर्ने अवस्था आउनु समग्र यातायात क्षेत्रका लागि दुःखद भएको उनले बताए ।