असोज २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले केन्द्रीय बैंकले १४ दिनको रिपो जारी गर्न लागेको बताएको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो बुधवार बोलकबोलमार्फत खरीद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते ३० अर्ब रुपैयाँ रिपोमार्फत बजारमा पठाएको थियो ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । रासस