धितोपत्र बजारमा विभिन्न सूचनाका आधारमा धितोपत्र (शेयर वा डिबेञ्चर) खरीदविक्रीको चाप बढनेघट्ने र मूल्यमा उतारचढाव हुने गरेको छ । यस्ता सूचना सार्वजनिक गरेका वा नगरेका भित्री सूचनाका आधारबाट पनि हुन सक्छ । भित्री सूचना वा जानकारीका आधारमा धितोपत्र कारोबार भएमा सूचना पाउनेले फाइदा लिन सक्छ भने सूचना वा जानकारी नहुनेलाई नोक्सानी हुन सक्छ । सार्वजनिक नगरेका भित्री सूचनाका आधारमा धितोपत्र अर्थात् शेयर वा डिबेञ्चरका कारोबार भएमा यसलाई भित्री कारोबार भनिन्छ जुन दण्डनीय हुन्छ । भित्री कारोबार हुनका लागि कम्पनी भित्रका पदाधिकारीले सार्वजनिक नगरिएका सूचना वा जानकारीका आधारमा शेयर वा डिबेञ्चरको कारोबार हुन्छ भने यसलाई भित्री कारोबार भएको मानिन्छ । यस्तो सूचना वा जानकारी भित्र केके पर्न सक्छ भन्ने सन्दर्भमा कम्पनीका संवेदनशील सूचना वा जानकारीसँग विशेष सम्बन्ध राख्छ । संवेदनशील सूचना वा जानकारी भित्र पर्ने विषयमा बोनस शेयर जारी गर्ने, लाभांश वितरण गर्ने, हकप्रद शेयर जारी गर्ने व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, वित्तीय परिणामहरू, नाफानोक्सानको हिसाब र व्यावसायिक सम्झौताहरू आदि पर्न सक्छ । यी भित्री सूचना संवेदनशील हुने हुँदा शेयरबजारका शेयर मूल्यमा प्रभाव पर्न सक्छ जसको कारण कुुनै व्यक्ति वा समूहले धितोपत्र खरीद वा विक्रीबाट फाइदा लिन सक्छ भने अर्को व्यक्ति वा समूहलाई नोक्सानी पर्न सक्छ ।
‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झन पर्ने व्यवस्था छ ।
भित्री कारोबार नहोस् भन्नका लागि विभिन्न राष्ट्रले आआफ्ना देशले कानूनी व्यवस्थाहरू गरेका हुन्छन् । धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीले अनिवार्य रूपमा सार्वजनिक सञ्चार माध्यममा धितोपत्र संवेदनशील सूचनाहरू सार्वजनिक गर्न पर्ने कानूनी व्यवस्था गरिएको हुन्छ ।
सार्वजनिक सूचना जानकारी नगरिएको अवस्थामा भित्री सूचना प्राप्त गर्ने र प्राप्त नगर्ने व्यक्तिका बीच कारोबार हुँदा असमान भेदभाव भई कुनैलाई फाइदा कुनैलार्ई नोक्सानी हुन्छ । नोक्सानमा पर्नेहरूलाई जोगाउन भित्री कारोबारलाई अपराध मानिए तापनि कारोबार भइसकेको अवस्थामा कारोबारलाई कानूनी मान्यता दिएको पाइन्छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ मा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने व्यवस्था छ । यस प्रयोजनका लागि ‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झन पर्ने व्यवस्था छ । ऐनको दफा ९१(१)। सूचीकृत कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच हुने व्यक्तिहरूमा संस्थाका सञ्चालक, कर्मचारी वा शेयरधनीका हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, उक्त संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति पर्छन् ।
भित्री कारोबार नियन्त्रण गर्न भएका व्यवस्था
क) बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनमा भएको व्यवस्था
बैंक तथा वित्तीय संस्थामा भित्र कारोबार नहोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा धितोपत्र कारोबार गर्नमा बन्देजसम्बन्धी व्यवस्था गरेको छ ऐनको दफा १२(१) ले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बद्ध बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरीदविक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न नहुने व्यवस्था गरेको छ । बोनस शेयर, हकप्रद शेयर, कर्मचारीलाई छुट्ट्याइएको शेयर वा नयाँ शेयर जारी हुँदा वा राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा वा कुनै सञ्चालक वा सञ्चालक नियुक्त गर्ने अधिकार पाएको संगठित संस्थाले कुनै बैंक वा वित्तीय संस्थामा आप्mनो नाममा रहेको सम्पूर्ण शेयर विक्री गर्दा वा बैंक वा वित्तीय संस्था एकआपसमा गाभ्दा गाभिँदा वा एउटा बैंक वा वित्तीय संस्थाले अर्काे बैंक वा वित्तीय संस्था प्राप्ति गर्दा वा बैंक वा वित्तीय संस्थाको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भएमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सञ्चालक वा सञ्चालकबीच एकआपसमा धितोपत्र खरीद विक्री गर्न वा समस्याग्रस्त बैंकको सुधारात्मक वा फरफारकको प्रक्रियामा हुने शेयरको खरीद विक्री वा हस्तान्तरण गर्ने गराउने कामकारबाहीमा भने यो व्यवस्था लागू हुँदैन । ऐनविपरीत धितोपत्र कारोबार भएमा त्यस्तो धितोपत्र सम्बद्ध बैंक वा वित्तीय संस्थाले जफत गरी राष्ट्र बैंकले तोकेबमोजिम विक्रीवितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
ख) धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना सार्वजनिक गर्नुपर्ने
धितोपत्रको मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना वा जानकारी जसमा बोनस शेयर, लाभांश, हकप्रद शेयर जारी गर्ने, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाव, वित्तीय परिणामहरू, अन्य पक्षहरूसँग व्यावसायिक सम्झौताहरू, मर्जर तथा प्राप्ति आदि सूचना धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीले अनिवार्य रूपमा राष्ट्रिय स्तरको पत्रिका र धितोपत्र नियम बजार अर्थात् नेपाल स्टक एक्सचेन्जमा सूचना वा जानकारी दिनुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको पाइन्छ । धितोपत्र विनिमय बजारमा सूचिकृत कम्पनी (संगठित संस्था) ले आर्थिक वर्षको वासलात, नाफा नोक्सानीको हिसाब, कारोबारको प्रगति विवरण, तोकिएबमोजिम आर्थिक विवरण र आर्थिक प्रतिवेदन धितोपत्र बोर्ड र धितोपत्र बजारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाले भित्री कारोबारलाई नियन्त्रण गर्न मद्दत पुग्ने देखिन्छ ।
ग) भित्री कारोबार गर्न सक्ने व्यक्ति
भित्री कारोबार हुनका लागि धितोपत्रलाई असर पार्ने गरी भित्री रूपबाट जानकारी प्राप्त गरी कारोबार गर्ने वा गराउने सो कार्यबाट फाइदा प्राप्त व्यक्ति हुन आवश्यक छ । भित्री कारोबार नियन्त्रणका लागि भित्री कारोबार गर्न सक्ने व्यक्तिको पहिचान हुनुपर्छ । धितोपत्रसँग सम्बद्ध केही कानूनी व्यवस्थाले सूचीकृत कम्पनीका सञ्चालक, पदाधिकारीलगायत निजका परिवारका सदस्यहरूले निज उक्त पदमा बहाल रहँदाका बखत वा बहाल टुटेको १ वर्षसम्म उक्त कम्पनीको शेयर कारोबार गर्न रोक लगाएको छ । भित्री कारोबार गर्न सक्ने व्यक्तिहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ । प्रत्यक्ष भित्री व्यक्ति तथा अप्रत्यक्ष भित्री व्यक्ति । प्रत्यक्ष भित्री व्यक्तिहरूमा कम्पनीका सञ्चालक, लेखापरीक्षक, कम्पनीका कारोबार वा नाफा नोक्सानको जानकारी प्राप्त गर्न सक्ने कर्मचारी, कार्यकारी प्रमुख, कम्पनी सचिव, सल्लाहकार, व्यवस्थापन तथा लेखा सम्बद्ध कर्मचारीहरू पर्छन् । अप्रत्यक्ष भित्री व्यक्तिहरूमा सञ्चालक वा कर्मचारीका नातेदार, कम्पनीअन्तर्गत रहेका कम्पनी, धितोपत्र, कारोबार गर्ने सदस्य वा दलाल, कम्पनीसँग वित्तीय कारोबार राख्ने वैंक वा वित्तीय संस्थांं पर्छन् ।
भित्री कारोबार गर्नेलाई हुने दण्ड सजाय
सजाय : धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१(१) ले भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै ऐनको दफा १०५ले. क्षतिपूर्ति व्यवस्था गरेको छ जसमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्दा मूल्यमा असर परेको कारणले कुनै हानिनोक्सानी भएको भए सो हानिनोक्सानी समेत त्यस्तो कसूर गर्नेबाट भराई लिन सकिने व्यवस्था छ ।
लेखक अधिवक्ता हुन् ।