भदौ ११, लन्डन (बेलायत) । गत महीना बेलायतमा कारको उत्पादन सन् १९५६ यताकै न्यून स्तरमा ओर्लिएको छ । विश्वभर चिपको अभावबीच उत्पादन प्रभावित भएको हो ।
जुलाईमा ५३ हजार ४३८ थानसवारी साधन उतपादन भएको बेलायतका मोटर उत्पादक तथा व्यवसायीहरुको संगठन (एसएमएमटी) को तथ्यांकले देखाएको छ । यो सन् २०२० को जुलाईको तुलनामा ३७ दशमलव ६ प्रतिशत कम हो ।
समीक्षा अवधिको उत्पादन दर सन् १९५६ मा एसएमएमटीले सवारी साधन उत्पादन सम्बन्धी तथ्यांक राख्न थालेयताकै खराब हो । विश्वभर चिपको अभावबाहेक कोरोना भाइरसको महामारी कारण कारखाना बन्द र कर्मचारीहरुको अनुपस्थिति लगायत कारणले गर्दा पनि उत्पादन प्रभावित भएको हो ।
जुलाईमा उत्पादन घटेको भएपनि गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष शुरु भएदेखि जुलाईसम्ममा भने कारको उत्पादन १८ दशमलव ३ प्रतिशत माथि रहेको छ । जनवरीयता बेलायतमा करीब ५ लाख ५२ हजार ३६१ थान कार उत्पादन भएका छन् । यो सन् २०१९ को महामारी पूर्वको स्तरभन्दा चाँहि २८ दशमलव ९ प्रतिशत कम हो । एजेन्सी