पुस १२, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर-३, बाँसबारीमा २०० शय्याको होटल लालचन निर्माण हुने भएको छ।
पाँच रोपनीमा निर्माण हुने होटलका लागि १४ तले भवन बनाउने प्रस्ताव गरिएको छ। २ हजार ५९८ वर्गमिटर जग्गामध्ये १ हजार ३२ वर्गमिटर जग्गामा मात्रै भवन निर्माण गरिने छ। जुन कुल क्षेत्रफलको ३९ % मात्रै हो। १० % हरियाली क्षेत्रसहित कुल ६० % जग्गा खाली राख्ने होटलले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) रिपोर्टमा उल्लेख छ।
१४ तलाको एकल भवनमा १२२ ओटा कोठा निर्माण हुने छन्। उक्त भवन ११ हजार ५८२ वर्गमिटरको हुने छ। कुल क्षेत्रफलको ५० प्रतिशत खुल्ला क्षेत्र र १० प्रतिशत हरियाली क्षेत्र रहने छ।५० ओटा कार र १०० ओटा मोटरसाइकलका लागि भूमिगत पार्किङ हुने छ। निर्माणको चरणमा दैनिक १५ हजार लिटर र निर्माणपछि देनिक ६० हजार लिटर खानेपानी चाहिने होटलले उक्त पानी भूमिगत सतहबाट लिने बताएको छ।
दैनिक २६१ किलो फोहोर मैला निस्कने होटलबाट प्रत्यक्षरुपमा १२ ओटा घरपरिवार र अप्रतक्ष रुपमा २२ घरपरिवार प्रभावित हुने होटलले बताएको छ। उक्त ईआईए रिपोर्टमा राय सुझाव दिन वन तथा वातावरण मन्त्रालयले ७ दिनको समय दिएको छ।