रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् ४६ वर्षीया फूलमाया विक । उनको परिचय हो, घर बनाउने हेड मिस्त्री । बुधबार फूलमायाको साइकलको ह्यान्डिलमा झुन्डिएको हटकेसमा थियो– सुक्खा रोटी र आलुको भुजिया । बिहान उठेर घरको सारा काम सकिवरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी हुन् । कहिलेकाहीं त यति हतार भइदिन्छ, सुक्खा रोटी र टमाटरको चटनीसँग भोक मार्नुपर्छ ।