निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । समितिले पाएको १० दिनको अवधिमा सबै काम नसकिने भएपछि म्याद थपको तयारी भएको हो । आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। समितिको म्याद साउन ५ गते बिहिबार सकिन्छ । तर समितिले जनार्दन शर्मासँग नै बयान लिएको छैन । समितिले शर्माको बयान बिहिबार लिने तयारी गरेको छ । त्यस्तै समितिले सिसिटिभी फुटेज नपाएपछि डिलेट भएको भनिएको फुटेज रिकभर गर्न प्रहरीलाई पठाएको छ ।अझै केहि व्यक्तिको बयान लिन बाँकि रहेको, फुटेज रिकभर गर्न प्रहरीलाई पठाईएकोले त्यसको नतिजा आउँन समय लाग्ने र सबै छानबिन सकेर प्रतिवेदन लेख्न थप समय आवश्यक परेकोले मेड थपको लागि आग्रह गर्ने निर्णय समितिले गरेको हो । बजेट प्रस्तुत गर्ने अघिल्लो दिन जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दरहरु हेरफेर गराएको समाचार सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनीमाथि संसदीय समितिले छानबिन गरिरहेको छ । समितिले यसअघि अर्थसचिव मधु मरासिनीसहित अर्थका अन्य अधिकारीसँग पनि बयान लिईसकेको छ । समितिले आज यस बारे समाचार लेख्ने २ जना पत्रकारसँग पनि सोधपुछ गरेको छ ।