तनहुँमा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको चासो र विश्वास बढ्दै गएको छ । कम खर्चमै रोग निको हुन थालेपछि आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि हाल भने उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको छ । हाल दैनिक रूपमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेको केन्द्रले जनाएको छ । स्वास्थोपचारका लागि विभिन्न उपकरणसमेत जडान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६५ हजार बिरामीले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, प्रसूति, बमनथेरापीलगायतको उपचार गर्न आउने गरेको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो ।