काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि विक्रीमा ल्याएको कुमारी सबल योजनाको इकाई विक्री अवधि थप भएको छ । छिटो अवधि फागुन २ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएपछि योजना व्यवस्थापक क्यापिटलले फागुन १३ गतेसम्मको अवधि थप गरेको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।
न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र यो इकाईको बाँडफाँट गर्न सकिनेछ । यदि न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै यो इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत क्यापिटलले पुरा गर्नेछ ।
१० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरूले सम्पूर्ण अ ास्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।