काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्शले पर्यटक आकर्षण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मालाई आग्रह गरेको छ । राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटमा जलविद्युत् क्षेत्रमा भारतीय निजीक्षेत्रको लगानी भित्र्याउन पहल गर्न आग्रह गरिएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न पहल गर्न आग्रह गरे । यस्तै छिमेकी मुलुक भारतको जनसंख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै पर्यटक नेपालको भ्रमणमा ल्याउन सके पनि नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ थियो । यसका लागि सहजीकरण गरीदिन पनि राजदूत शर्मालाई उनले आग्रह गरे । जवाफमा राजदूत शर्माले नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउन आफूले पहल गर्ने बताएका छन् ।