ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई ध्यानमा राखेर ठमेलको पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँले महोत्सवमार्फत ठमेल विदेशी पर्यटकमा निर्भर रहेको भ्रम चिर्दै आन्तरिक पर्यटकको आवागमन बढाउन, बस्न र घुम्नका लागि ठमेल जानुपर्छ भनेर पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । चैत ३० गते साँझ सुरु हुने महोत्सव नयाँ वर्षलाई स्वागत गरेर वैशाख १ गते राति १२ बजे सकिनेछ । सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने भनाइ उहाँको छ । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक साङ्गीतिक कार्यक्रमदेखि सांस्कृतिक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो ।