नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो । गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।