प्रविधिको प्रयोग र धेरै लगानीकर्ता बढेका कारण शेयरबजार परिपक्व बन्दै गएको विश्लेषण गरिए पनि आइतवार, सोमवार र मंगलवारको बजारको गतिले यो परिपक्व नभएको सन्देश दिएको छ । साथै, शेयरबजारमा चतुर खेलाडीहरूले कुनै न कुनै तरीकाले चलखेल गर्न सक्ने रहेछन् भन्ने संकेत दिएको छ । खासमा शेयर बजार अझै पनि शेयरबजारको आधारभूत कुराको आधारमा चलिरहेको रहेनछ भन्ने देखाउँछ ।
प्रचण्डले अभिव्यक्ति सच्याएको र लगानीकर्ताहरूको संगठनले अर्थमन्त्री भेटेको आधारमा बजार उच्च अंकले उकालो लाग्नुमा बलियो आधार खासै केही देखिँदैन ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा तोकेपछि शेयरबजार परिसूचक नेप्से ओरालो लाग्न थालेको हो । बैंकबाट कर्जा लिएर लगानी गर्ने एकाध ठूला लगानीकर्तामात्र प्रभावित हुने भए पनि यसले शेयरबजार केही मात्रामा घटायो । बैंकहरूमा तरलताको अभाव भई ब्याजदर बढ्न थालेपछि शेयरबजार प्रभावित भयो । फलतः रू. २० अर्बभन्दा बढीको कारोबार भइरहेकामा त्यो रकम घट्दै दैनिक काराबोर ४ अर्बको हाराहारीमा हुन थाल्यो । शेयरबजारमा ठूलो अंश ओगटेको बैंकिङ क्षेत्रको मुनाफा राम्रै भए पनि तथा आकर्षक प्रतिफल दिए पनि बजार घटिरह्यो । राष्ट्र बैंकलाई देखाएर बजारमा चलखेल गर्न खोजिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शेयरबजारलाई साम्राज्यवादको रूप भन्दै यसबाट केही व्यक्तिले मात्रै लाभ लिने अभिव्यक्ति दिए । उनको अभिव्यक्ति आएको भोलिपल्ट शेयरबजार ठूलो अंकले ओरालो लाग्यो । अर्थमन्त्री जनार्दन शर्माले पनि शेयरबजारका गुनासाप्रति त्यति वास्ता नदेखाउ“दा बजार प्रभावित भएको थियो ।
दाहालको भनाइले अर्थतन्त्रमा खासै अर्थ राख्ने देखिँदैन । राजनीतिक खपतका लागि केही अन्टसन्ट बोल्ने नेताहरूको भाषणमा आत्तिएर शेयर बेच्नुपर्ने कारण देखिँदैन । त्यसमा पनि यो दलले सरकार बनाउने सम्भावना पनि छैन । अहिले गठबन्धन सरकारले अर्थनीतिमा ठूलो परिवर्तन ल्याउन पनि सक्दैन । यस्तोका उनकै भाषणका कारण बजार घट्नुपर्ने देखिन्न । यो लगानीकर्ताको त्रासको मनोविज्ञानमा गरिएको चलखेल हो ।
शेयरबजारलाई लिएर दाहालले दिएको अभिव्यक्ति नै गलत छ । शेयरबजारले असमानता बढाउने होइन, शेयरबजारमा ठूला कम्पनीले शेयर जारी गरेर असमानता कम गराउन मद्दत खेल्छ । निजी कम्पनीको फाइदा केही व्यक्तिले पाउँछन् भने पब्लिक लिमिटेड कम्पनीले धेरैलाई फाइदा दिलाउँछ । खासमा असमानता घटाउने हो भने शेयरबजारको विस्तार आवश्यक छ । अझै पनि ५०प्रतिशत भन्दा बढी शेयर प्रवर्द्धककै हुनुपर्छ भन्ने नियम छ । त्यसलाई फेरेर २० कम्पनीसम्म झार्ने हो भने धेरैका हातमा शेयर जानेछ । जलविद्युत् कम्पनीले दूरदराजका क्षेत्रका मानिसलाई शेयर दिएर धनी बनाएको छ ।
मंगलवार कारोबार नै रोक्का गर्नुपर्ने गरी कुनै ठोस समाचार आएको पनि छैन । दाहालले अभिव्यक्ति सच्याएको र लगानीकर्ताको संगठनले अर्थमन्त्री भेटेको आधारमा बजार उच्च अंकले उकालो लाग्नुमा बलियो आधार खासै केही देखिन्न । त्रास र आशको मनोविज्ञानले शेयरबजारमा ठूलो अर्थ राख्छ । विभिन्न खाले पहुँच भएका व्यक्तिहरूले यही मनोविज्ञानमा खेलेर बजारमा असर पारेको देखिन्छ ।
केही व्यक्तिले लगानीकर्ता सबै भेडा हुन् अज्ञानी पटमूर्खले शेयरमा लगानी गरेका छन्, उनीहरू साना घटनाले आत्तिने र मात्तिने गर्छन् भन्ने व्याख्या गरेको पाइन्छ । यो सरासर गलत हो । बजारबारे केही थाहा पाएकाहरूले नै यसमा लगानी गरेका छन् । पछिल्लो समय अनलाइन कारोबार भइरहेकाले केही व्यक्तिले चलखेल गर्न सक्दैनन् भन्न थालिएको थियो । त्यस्तै लाखौं लगानीकर्ता भएकाले यसमा केही व्यक्तिले चलखेल गर्न विगतमा जस्तो सहज छैन भनेर विश्लेषण गर्न थालिएको थियो । तर, केही व्यक्तिसँग बजार नियन्त्रण गर्न सक्ने शक्ति रहेछ । त्यसैले बजारमा अझै सुधार गर्न बाँकी रहेछ भन्ने कुराको संकेत यस घटनाले गरेको छ । शेयर कारोबारमा केही व्यक्तिले चलखेल गर्न नसक्ने बनाउने हो भने नेप्से र ब्रोकर प्रणालीमा सुधार आवश्यक छ । मार्जिन लेन्डिङको सेवा ब्रोकरहरूले दिनु आवश्यक छ ।