काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा साढे नौ करोड भन्दा बढी विगो दाबी गरेर मुद्दा चलाइएका सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक (सहसचिव) अशोकनाथ उप्रेती पाँच लाख धरौटीमा छुटेका छन् । विशेष अदालतले बुधबार उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले माग गरेको धरौटी बुझाएर उनी बुधबार नै रिहा भएका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
ललिता निवासको जग्गा हिनामिना गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ र अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। ती मध्ये ११० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने भन्दै प्रतिवादी बनाइएको छ।