काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो ।
रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो ।
साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।