काठमाडौं। एसईईको नतीजासँगै धनगढी उपमहानगरपालिकाकी सिर्जना भट्ट कक्षा ११ मा कुन विषय पढ्ने, अन्योलमा छिन् । उपमहानगरपालिकाको विद्यालयबाट ३ जीपीए ल्याएकी उनले ११ मा विज्ञान विषय लिने कि व्यवस्थापन निक्र्योल गर्न सकेकी छैनन् । आफूसँग मिल्ने साथी व्यवस्थापन पढ्ने भनिरहेकाले उनलाई पनि त्यही विषय लिन मन छ । तर, परिवारले उनलाई विज्ञान विषय लिन सुझाइरहेका छन् । ‘कुन विषय लिउँ भन्ने दोधारमा छु,’ उनले सुनाइन् ।
उनलाई मात्रै होइन, यो समस्या अन्य विद्यार्थीलाई पनि छ । साथीहरूको लहड र परिवारको दबाबका कारण कक्षा ११ मा अध्ययन गर्ने विषयबारे अन्योलमा देखिन्छन् विद्यार्थी । प्राध्यापक बालकृष्ण लुइँटेल एसईईलाई एसएलसीजस्तो हाउगुजी बनाउन नहुने बताउँछन् । ‘यो विद्यालयस्तरकै एक परीक्षा हो । त्यसैले यसलाई हाउगुजी बनाउन हुँदैन,’ उनी भन्छन् ।
आफ्नो रुचि र क्षमतालाई हेरेर विषय छनोट गर्नुपर्ने विज्ञहरू बताउँछन् । ‘१५–१६ वर्षको उमेरमा आफ्नो रुचि र क्षमतालाई परख गर्ने क्षमता हुन्छ, आफूलाई परख गरेर विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन् ।
विद्यार्थीलाई विषय छनोटमा अन्योल भए अभिभावक र विद्यालयले परामर्श दिनुपर्ने हो । तर, देशमा फाट्टफुट्ट विद्यालयबाहेक अन्यले परामर्श दिने गरेका छैनन् । यसबारे न त अभिभावक नै सचेत छन् । यसले गर्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम बढेको छ ।
त्यसैले करिअर परामर्श एकदमै आवश्यक भएको विज्ञको भनाइ छ । पत्रकार मुकुन्द भण्डारी विद्यार्थीलाई विषय छनोटमा विद्यालयले पनि परामर्श दिनुपर्ने बताउँछन् । ‘विद्यार्थीको आनीबानी, रुचि र क्षमता शिक्षकलाई बढी थाहा हुन्छ, त्यसकारण विद्यालयबाटै परामर्श दिइनुपर्छ,’ उनी भन्छन् । तर, विद्यार्थीहरू शिक्षकबाट करिअर परामर्श नभएको बताउँछन् । ‘म कुन विषय लिउँ भनेर सोध्ने विद्यार्थीलाई शिक्षकले भन्नुभएको होला । तर, सबैलाई भन्नुभएको छैन,’ विद्यार्थी भट्ट भन्छिन् ।
शिक्षाविद् जीतबहादुर शाह पनि करिअर काउन्सिलिङलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँछन् । उनी करिअर काउन्सिलिङलाई कक्षा ८ देखि नै पाठ्यक्रममा समावेश गरिनुपर्ने सुझाव दिन्छन् । ‘यो विषयलाई पाठ्यक्रममा राख्न सके विद्यार्थीलाई विषय छनोटमा सहज हुन्थ्यो,’ उनी भन्छन् ।
यससँगै यो विषयमा अभिभावक पनि सचेत हुनुपर्ने उनको सुझाव छ । ‘आफ्नो नानीबाबुको रुचि र क्षमता केमा छ, त्यो अभिभावकलाई जानकारी हुन्छ । आफ्नो नानीबाबुलाई समस्या भए/नभएको पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । तसर्थ विषय छनोटमा अन्योल भए अभिभावकले परामर्श दिनुपर्छ,’ उनी भन्छन् ।
विद्यार्थीलाई विषय छनोटमा अन्योल भए अभिभावक र विद्यालयले परामर्श दिनुपर्ने हो । तर, देशमा फाट्टफुट्ट विद्यालयबाहेक अन्यले परामर्श दिने गरेका छैनन् । यसबारे न त अभिभावक नै सचेत छन् ।
यसमा अभिभावकले आफ्ना नानीबाबुसँग परामर्श गरे उनीहरूलाई सहज हुने पत्रकार भण्डारी बताउँछन् । आफूले परामर्श दिएकाले छोरा समेक भण्डारीलाई विषय छनोटमा सहज भएको उनको भनाइ छ । उनका छोरा समेक कक्षा ११ मा विज्ञान विषय पढ्ने योजनामा छन् । भक्तपुरको एक विद्यालयबाट एसईईमा ३ दशमलव ९ जीपीए ल्याएका उनले कक्षा ११ मा पढ्नका लागि ग्लोबल कलेजमा नाम निकालिसकेका छन् ।
विद्यार्थीलाई करिअर काउन्सिलिङ भए भविष्यको लक्ष्य निर्धारणमा सहज हुने विज्ञ बताउँछन् । कैलालीको एक निजी विद्यालयमा अध्यापन गरिरहेका टेकराज ओझा विद्यार्थीलाई करिअर काउन्सिलिङ दिनेबारे विद्यालयले महसुस नगरेको बताउँछन् । ‘अधिकांश विद्यालयलाई करिअर काउन्सिलिङबारे आइडिया नै छैन । फाट्टफुट्ट रुपमा भने देखिन्छ,’ उनले भने ।
कसरी छान्ने विषय ?
विज्ञहरू विषय छान्दा साथीभाइको लहडमा नछान्न सुझाव दिन्छन् । ‘विषय छनोट गर्दा साथीभाइको लहलहैमा लागेर होइन, आफ्नो रुचि र क्षमता हेर्नुपर्छ,’ शिक्षाविद् शाह भन्छन् । त्यस्तै भविष्यमा त्यो विषयको उपयोगितालगायत विषयमा ध्यान पुर्याउन आवश्यक रहेको उनको सुझाव छ । ‘यसमा अभिभावकले आफ्ना नानीबाबुलाई काउन्सिलिङ गर्न आवश्यक छ,’ उनी भन्छन् ।