काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौं–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् । विगतमा हुँदै आएको काठमाडौं–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् ।
पर्यटन मन्त्रालयमा बुधवार भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल–रसिया व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी काम अगाडि बढाउन आग्रह गरे । साथै उनले रसियन हवाईजहाज र हेलिकोप्टर नेपाललाई के कति आवश्यक पर्छ, सो विषयमा जानकारी समेत लिए ।
रिवासले राखेको प्रस्तावमा मन्त्री आलेले रसियन हवाई जहाज वित्तीय व्यवस्थापनसहित सहुलियत दरमा दिन सक्ने अवस्थामा नेपाल एरलाइन्सले सहकार्य गर्न सक्ने जानकारी दिए । यसैगरी मन्त्री आलेले काठमाडौं–मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए । रासस