काठमाडौं । प्रदेश नं १ को मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना थपिएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले चार जना थप गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका चार जना सांसदलाई मन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुनुभएको छ । मगर यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहमा लाग्नुभएको थियो । योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बुधबार बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने एमालेका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन एक हप्ताको समय दिएको थियो ।