जेठ १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म विक्री गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता शेयर जेठ १२ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।