सुमन आचार्य, भरतपुर ।
राष्ट्रिय जनमोर्चा, चितवनले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै भरतपुरमा विरोध प्रदर्शन गरेको छ । शनिबार भरतपुरको चैबिसकोठीमा प्रदर्शन तथा विरोध सभाको आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चोकबाट सुरु भएको प्रदर्शन नाराजुलुससहित मालपोत कार्यालय हुँदै चौबिसकोठीमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सचिव डम्बर पुरीले ओली सरकारले चालेको असंवैधानिक कदम फिर्ता लिनुपर्ने र विघटित संसदको पुनर्स्थापना अनिवार्य रहेको बताउनुभयो । वर्तमान प्रधानमन्त्रीले नेपाली जनताको छ दशक भन्द लामो संघर्षबाट बनाएको संविधान रद्धीको टोकरीमा फालेर नवमहाराजा बन्ने दाउमा रहेको भन्दै संविधानको रक्षाका लागि जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय जनमोर्चा भरतपुर महानगर सचिव सुमन आचार्यको सन्चलन तथा जिल्ला सहसचिव देवि शर्माले स्वागत गर्नुभएको कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष विष्णु पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।