स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी २८ वर्षअघि भएको देखिन्छ । तर वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसमा थुप्रै समस्या छन् जसको समाधानमा सरकारले पर्याप्त पहल गरेको देखिँदैन । विदेशमा रोजगारीका लागि जाने क्रम यसरी नै बढ्ने हो भने आगामी ५ वर्षमा सत्तरी प्रतिशत घरमा रेमिट्यान्स पुग्ने अनुमान गरिएको छ । देशका होनेहार श्रमशक्ति दिनानुदिन विदेशमा रोजगारीका लागि जानु अन्तत: घातक हुने अर्थविश्लेषकहरू बताउँछन् । अल्पकालका लागि उयुक्त देखिए तापनि दीर्घकालका लागि भने सकारात्मक होइन ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको बताइन्छ । वैदेशिक रोजगारीमा जति आकर्षण छ त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ । एक तथ्याङ्क अनुसार विदेशमा जाने कामदारमध्ये सत्तरी प्रतिशतले जोखिमपूर्ण कार्य गर्नुपर्छ । विदेश जानुपूर्व राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्य अनुसार नै सीपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि जोखिम कम हुने थियो । सम्झौता गरिएअनुरूप पारिश्रमिक नदिने, सुविधाहरू पूर्वशर्त अनुसार उपलब्ध नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्या देखिएका छन् ।
शिक्षितदेखि असाक्षरसम्म सबैको आकर्षण बनेको वैदेशिक रोजगारीबाट युवा जमातलाई विमुख गराउने हो भने स्वदेशमा रोजगारीको सुनिश्चितता हुनु जरूरी हुन्छ । रोजगारी उपलब्ध गराउने कार्य चुनौतीपूर्ण छ तर पनि वर्षेनि नयाँ उद्योग कलकारखाना खोल्ने, कृषि र पर्यटनलाई व्यावसायिक बनाउँदै थप रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नुपर्ने खाँचो छ ।
नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा लाग्ने जनसंख्याको प्रतिशत भने वर्षेनि घट्दै गएको छ । कृषि क्षेत्रमा ठूलो व्यावसायिक खेतीको अभावमा त्यसतर्फ युवाको ध्यान केन्द्रित गराउन सकिएको छैन । वैदेशिक रोजगारीमा जानुपूर्व नै सम्बन्धित देशको धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियमकानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ । यसका लागि नियम बमोजिम श्रमसम्झौता गर्ने, जुन कामका लागि विदेश जाने हो सो काम राम्ररी गर्न सक्ने भएर मात्रै जाने हो भने जोखिमलाई न्यून गर्न सकिन्छ । श्रम इजाजत भएका देशमा मात्र जानुपर्छ तब मात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ । लुकीछिपी गलत प्रक्रियाबाट विदेशिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने हुछ । तसर्थ नियम संगत ढंगले मात्र विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ । अनेकौँ कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका शव दैनिक तीनजनाको दरले आउने गरेकोबाट पनि थाहा हुन्छ वैदेशिक रोजगारी जोखिमपूर्ण छ । सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्यले बढी जिम्मेवार बन्न सक्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै जानीबुझी मात्र वैदेशिक रोजगारीमा जानु बुद्धिमानी कार्य हुनेछ ।
स्वदेशमा नै रोजगारीको व्यवस्था हुन नसक्दा आज पनि हजारौँ युवाले अनेकौँ जोखिमपूर्ण कार्यमा खटिएर श्रम गर्न विवश छन् । उनीहरुको श्रमबाट प्राप्त हुने विप्रेषणले देशको अर्थतन्त्रमा सहयोग पुगेको छ । तर, यसले दीर्घकालीन समाधान दिँदैन । वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन सकिएको छैन । श्रमिकले अनेकौँ दु:ख र पीडा खपेर बस्नुपर्ने बाध्यता अहिले पनि छँदै छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । विदेशमा रोजगारीका लागि जानेले पनि सीप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्ने जस्ता सबालमा बढी चनाखो हुनुपर्छ । राज्यले श्रम गर्न निषेध गरेका देशमा लुकीछिपी जाने अवैध तरिकाले दलालीको सहयोगमा गलत मार्गबाट पुग्ने कार्यले पनि समस्या थपेको छ । सम्झौता अनुरूपको तलब ,सुरक्षाको ग्यारेन्टी लगायतका सबालमा प्रभावकारी कार्य गर्नुपर्ने खाँचो रहेको छ । आफू काम गर्न जाने देशको बारेमा पर्याप्त जानाकारी लिनुपर्छ । सम्बन्धित देशको भाषा सिक्ने, त्यहाँको हावापानीको अवस्थाको ख्याल गर्ने, काम सिकेर मात्र जानेजस्ता सामान्य तर ज्यादा महŒवपूर्ण पक्षमा ध्यान दिनुपर्छ । नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या बीस लाख रहेको छ । तर यो संख्या भन्दा धेरै नागरिक श्रमका लागि विदेसिएको देखिन्छ । तिनलाई स्वदेशमा नै रोजगारी दिने गरी नीति तय गरिनुपर्छ । देशमा नै रोजगारी प्राप्त गर्न सक्ने क्षेत्र भनेको कृषि, उद्योग र पर्यटन हुन् । हामीले कृषिमा युवालाई आकर्षित गर्न सकिरहेका छैनौँ । उद्योगको स्थापना पनि गर्न सकेका छैनौँ भने पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार गरी रोजगारी बढाउन सकेका छैनौँ । पछिल्लो समय त कोरोनाको महामारीका कारण यो क्षेत्र झनै प्रभावित भएको छ ।
हामी कृषि प्रधान देशका नागरिक तर खाद्यान्नका लागि मात्र मासिक अर्बौं रकम खर्चन्छौँ । एक दशक अगाडिसम्म हामी भारतमा खाद्यान्न निर्यात गथ्यौँ भने आज तरकारी, फलफूल, खाद्यान्न सबै भारतलगायतका मुलुकबाट आयात गछौँ । भन्न पनि लाज लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । उत्पादन वृद्धि गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्न राज्यले युवावर्गलाई कृषिमा आकर्षित गर्नै पर्छ जसका लागि ऋण सहजै उपलब्ध गराउने, उत्पादनले बजार पाउने व्यवस्था मिलाउने, उन्नत जातका बीउबिजन उपलब्धता गराउने, समयमा नै आवश्यक मलको प्रबन्ध गर्ने जस्ता कार्य गर्नुपर्छ । व्यावसायिक कृषिमा जोड दिँदै युवालाई यस क्षेत्रमा आकर्षित गराउनुपर्छ । यसो गरेमात्रै स्वदेशमा नै रोजगारी बढाउँदै उत्पादन समेत वृद्धि गर्न सकिन्छ । वैदेशिक रोजगारीका चुनौतीलाई हटाउँदै थप व्यवस्थित र भरपर्दो बनाउन प्रभावकारी कदम चाल्नुपर्छ । बढ्दो बेरोजगारीको समस्यालाई क्रमश: हटाउनका लागि युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन सिञ्चाइ, बजार, बीउबिजन, ऋण, मल, भण्डारणको प्रभावकारी व्यवस्था गर्नुपर्छ ।
लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।