जेठ २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारीमा रहेको बताएका छन् ।
मंगलवार वेबीनार मार्फत आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष ढुंगानाले नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी गरेको बताएका हुन् । यो कार्यमा अर्थ मन्त्रालय सकारात्मक रहेको पनि उनले बताए ।
अर्को स्टक एक्सचेञ्ज स्थापनाका लागि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्धयनका लागि अर्थ मन्त्रालयमा पेस गरेको पनि उनले बताए ।
धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले सुझाव दिएको सन्दर्भमा उनको यो भनाइ आएको हो ।
प्र्रतिवेदनमा नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल स्टक एक्सचेञ्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेञ्ज कम्पनी आवश्यक रहेको उल्लेख छ।