सूर्तीजन्य पदार्थविरुद्ध प्रभातफेरी

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ । महानगरले अभियान सफल बनाउन बिहीवार चेतनामूलक प्रभातफेरी गरेको छ । महानगर परिसरबाट शुरू प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यले सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको बताए । ‘महानगरले सरसफाइ अभियान पनि सञ्चालन गरिरहेको छ । सफाइका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोल भेटिएको छ,’ बस्नेतले भने, ‘महानगरले शुरू गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’ मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदाथ सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले निषेध गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गरे कानूनीले तोकेको कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ थियो । ‘महानगरले शुरू गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ,’ उनले थपे, ‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानूनले तोकेअनुसार कारबाही हुनेछ ।’ उनले अभियानलाई प्रशासनको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत पाँच स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्था, बसपार्क र बसमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन । कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरुलाई हानी नहुने गरी सेवन गर्न सक्ने उनको भनाइ थियो ।