फागुन २३, म्याग्दी । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटकहरु लेकतिर जान थालेका छन् ।
यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगलहरु रातै देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।म्याग्दीका अन्नपूर्ण,रघुगंगा,मालिका,मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुराँस फुलेर बनपाखानै राताम्य देखिएका छन् ।
फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न शुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । म्याग्दीका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूलहरु पाक्न थालेका थिए । बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविदहरुले बताएका छन् ।
लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । लालीगुराँस फूल चैत–वैशाख महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताए ।
लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका ३ का जगवहादुर विकले बताए । उनका अनुसार अहिले बेमौसममा नै काफल,तिजुलगायतका जंगली फल पाकेको छ ।
वातावरणवीद् चन्द्रमणी सापकोटाका अनुसार स्वभाविक समय अगाडी नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् ।
उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।