खुम्बुको नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिनुभयो । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।