बागलुङ । बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको नेपालकै लामोे झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरू भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षाका कारण घरमै बस्न बाध्य आन्तरिक पर्यटकले पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छ ।
कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुलको लम्बाइ ५६७ मिटर रहेको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद उद्यानबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने सो पुलमा अहिले आन्तरिक पर्यटक आउन थालेका हुन् । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।
अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आएका छैनन् ।
निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउने बढेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । पुल निर्माण गर्दा असर परेको शहीद उद्यानमा बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेकाले पनि पर्यटक बढ्न थालेका छन् ।
साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकको भीड लाग्ने गरेको छ । नियमित रूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।
४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै पुल निर्माणपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं,’ उनले भने । रासस