स महिना लागेसँगै तराईमा शितलहर पर्न थालेपछि चिसोका कारण रौतहटलगायत मध्य तराईका जिल्लाको जनजीवन कष्टकर हुन थालेको छ ।
जिल्लामा यसअघि चिसो र जाडो बढे पनि शितलहरको प्रवाह थिएन । तर, शुक्रबारदेखि जिल्लामा शितलहर बढेको छ । घाम हराएसँगै बढेको शितलहरका कारण दैनिकी कार्यहरु गर्न सर्वसाधरणलाई असहज भएको छ । वर्षेनी तराईका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । शितलहरका कारण बढेको जाडोले कठ्याङग्रिएर मानवदेखि पशु चौपायासमेत प्रभावित छन् । अत्यधिक चिसोका कारण सबैभन्दा बढी विद्यालय जाने तथा घरमा रहने बालबालिका र वृद्धबृद्धालाई असर पर्ने देखिएको छ । शितलहर र चिसो बढ्ने क्रम रहेमा खेतबारीमा लगाइएका तरकारीलगाएतका अन्य बालीमा समेत कमि आउनेमा किसानहरु चिन्तित छन् । जिल्लाका प्रमुख व्यापारिक ठाउँका रुपमा चिनिने चन्द्रनिगाहपुर, गौर, गरुडा, समनपुर, कटहरियालगायतका स्थानमा पसलहरु कमै मात्रामा खुलेका छन् । सदरमुकाम गौर जाने प्रमुख सडक तथा ग्रामिण भेगमा साना तथा ठूला सवारी साधन पातलिँदै चल्न थालेका छन् । आकासबाट झरेको शितलहर तथा बाक्लो हुस्सुका कारण सडकमा सर्वसाधारणको हिँड्डुलमा कमि आएको छ । कार्यालय जाने तथा ज्याला मजदुरीमा जाने श्रमिकहरु घरमै बस्न बाध्य हुनुपरेको छ । चिसोका कारण गरीब तथा ज्याला मजदुरी गर्ने श्रमिकलाई घरको गर्जाे टार्न समस्या देखापरेको चन्द्रपुर चारका स्थानीय श्रमिक लालबहादुर विश्वकर्माले बताउनुभयो ।
शितलहर र हुस्सुका समयमा सडकमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरीले सवारीसाधन विस्तारै चलाउन र विहान तथा दिउँसो सवारी चलाउँदा बत्ति बाल्न सुझाउँदै आएको जनाएको छ । रौतहटमा शितलहर तथा चिसोका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् ।