नेपाल नवीकरणीय स्वच्छ पानीको स्रोतका लागि विश्वमा ४३ औं स्थानमा रहेको छ भने विश्व खाद्य कृषि संगठनका अनुसार जनसंख्याअनुसार प्रतिव्यक्ति स्वच्छ पानीको अनुपातमा ५९ औं स्थानमा रहेको छ । विश्वका समृद्ध मुलुकहरूमा पानी अभावको समस्या देखिइरहेको अवस्थामा नेपालबाट बोटलबन्द पानी निकासीको सम्भावना उच्च देखिन्छ । त्यसमा पनि हिमालयबाट निक्लिएको पानी भनेर ब्रान्डिङ गर्न सके यसले निकै राम्रो बजार पाउन सक्ने देखिन्छ । तर, यो सम्भाव्यता दोहनमा नेपाल निकै पछि परेको छ । अहिले नेपालबाट कोरियालगायत केही मुलुकमा बोटलबन्द पानी निर्यात भइरहेको छ । तर, त्यो निकै सानो परिमाणको रहेको छ । सम्भावना भएर पनि किन पानी निकासी हुन सकेको छैन त ?
भारतबाहेक अन्य देशमा पानी निर्यातका लागि ढुवानी खर्च निकै लाग्छ तर नेपालको सीमावर्ती भारतीय शहरहरूमा नेपाली पानी सहजै निर्यात हुन सक्नुपर्ने हो । हिमालको पानी यसै पनि आकर्षक हुने गर्छ । तर, नेपालले भारतमा पानी निकासी गर्न सकेको छैन । पानी व्यवसायीहरूका अनुसार सरकारी नीति अनुकूल नभएकाले पानी निर्यात गर्न नसकिएको हो । नेपालमा झन्डै साढे चार सय पानी प्रशोधन उद्योग रहे पनि तिनले निर्यातका लागि पहल नगरेका हुन् कि भन्ने देखिन्छ किनभने धेरैको उद्देश्य स्वदेशी बजार नै रहेको देखिन्छ । पानी निर्यातकै लागि भनेर एकाध पानी उद्योग सञ्चालनमा छन् । बजारमा पाइने अन्य पानीभन्दा यिनको पानीको मूल्य निकै बढी छ तर नेपालमै पनि तिनले राम्रै बजार पाएको बताइन्छ । त्यसैले पानीको गुणस्तर निर्धारण र नेपालले प्रमाणीकरण गरेको गुणस्तरलाई अन्य देशले मान्यता दिने अवस्था नआएसम्म पानी निकासी हुन कठिन नै देखिन्छ । पानी मात्रै बेचेर चीनका एक व्यवसायी अर्बपति बनेका छन् भने नेपालको पानी कतार आदि पानीको समस्या भएका मुलुकमा निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्ने राम्रो स्रोत बन्न सक्छ ।