साउन ३, दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आज (आइतवार) देखि खोप लगाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जानकारी दिएको छ । ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।’ कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवम् स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’
हालसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ ।
त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपांगता भएका नागरिकलाई खोप लगाइने जानकारी दिइएको छ । रासस