पाकिस्तानले साउदी अरबबाट पायो ८ अर्ब डलर वित्तीय सहायता

जेद्दाह (साउदी अरब) । साउदी अरबले विदेशी विनिमय सञ्चिति अभावबाट गुज्रिरहेको पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहयोग गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको साउदी अरबको भ्रमणका क्रममा दुई पक्षबीच पाकिस्तानलाई उक्त सहयोग गर्नबारे सहमति भएको हो ।  पछिल्लो समय विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको पाकिस्तानलाई यो सहयोगले राम्रै टेवा दिने अपेक्षा गरिएको छ । आकाशिएको महँगी, घट्दै गइरहेको विदेशी विनिमय सञ्चिति, फारकिलो बन्दै गइरहेको चालु खाता घाटा र पाकिस्तानी रुपयाँको तीव्र अवमूल्यन आदि पछिल्लो समय पाकिस्तानले सामना गरेको मुख्य आर्थिक चुनौतीहरु हुन् ।   साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटका क्रममा दुई पक्षबीच वित्तीय प्याकेजमा तेल खरिद सुविधाको रकम दोब्बर बनाउने, निक्षेप वा सुकुकमार्फत अतिरिक्त नगद उपलबध गराउने र विद्यमान ४ अर्ब २० करोड डलरको कर्जा सुविधा विस्तार गर्नेलगायत विविध विषयमा सहमति भएको छ ।  शरिफ समेतको टोली पाकिस्तान फर्किसकेको भएपनि अर्थमन्त्री मिफताह इस्माली भने वित्तीय प्याकेजको मोडालिटीबारे अन्तिम निर्णय गर्नका लागि साउदीमै छन् । वित्तीय सहयोगको प्राविधिक विवरणहरुमा काम भइरहेको र सबै कागजपत्रहरु तयार हुन केही हप्ता लाग्ने यस मामिलाबारे जानकार शीर्ष अधिकारीहरुको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।  साउदी अरब भ्रमणका क्रममा शरिफले हाल १ अर्ब २० करोड डलर रहेको तेल सुविधा २ अर्ब ४० करोड डलरमा पुर्याउन प्रस्ताव गरेको थियो । यसमा साउदी अरबले सहमति जनाएको छ । यसबाहेक पनि विद्यमान ३ अर्ब डलरको निक्षेपको म्याद थपेर सन् २०२३ को जुनसम्म विस्तार गर्नेबारे पनि सहमति भएको छ ।  दुई पक्षबीच निक्षेप वा सुकुकमार्फत २ अर्ब डलरको अतिरिक्त प्याकेज उपलब्ध गराउनेबारे पनि छलफल भएको छ । साउदी अरबले सन् २०२१ को डिसेम्बरमा स्टेट बैंक अफ पाकिस्तानलाई ३ अर्ब डलर बराबरको निक्षेप उपलब्ध गराएको थियो । मार्च यता तेल सहुलियत सञ्चालनमा आरहेको छ । यसमार्फत साउदीले पाकिस्तानलाई तेल खरीदका लागि १० करोड डलर दिइसकेको छ ।  सन् २०१३ देखि सन् २०१८ को बीचमा मात्रै साउदीले पाकिस्तानलाई साढे ७ अर्ब डलर बराबरको आर्थिक प्याकेज उपलब्ध गराएको थियो । अर्थतन्त्र डगमगाउन लागेको बेलामा होस् वा भुक्तानी सन्तुलन संकटमा परेको समय होस् साउदीले पाकिस्तानलाई बेला बेलामा आर्थिक सहायता दिँदै आएको छ । प्रधानमन्त्री इमरान खानको पालामा पनि साउदीले पाकिस्तानर्ला ४ अर्ब २० करोड डलरको सहायता प्याकेज उपलब्ध गराएको थियो ।  गएको ६ देखि ७ हप्ताको बीचमा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ६ अर्ब डलरले घटेर साढे १० अर्ब डलरमा झरेको छ । ऋणको सावाँ ब्याज भुक्तानीको म्यादहरु नजिकिँदै गर्दा विदेशी विनिमय सञ्चिति घट्न नदिन पाकिस्तानलाई सन् २०२२ को जुनसम्ममा ९ देखि १२ अर्ब डलर बराबरको वित्तीय सहायताको खाँचो छ । एजेन्सी 

सम्बन्धित सामग्री

कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई दिने भयो ८ अर्ब ७० करोड ऋण

६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी …

कोरोना खोप अभियानका लागि विश्व बैंकले नेपालाई ८ अर्ब ७० करोड रुपैयाँ दिने

विश्व बैंकले कोरोना खोप र महामारी नियन्त्रणका लागि ७.५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। यो झण्डै ८ अर्ब ७० करोड रुपैयाँ नेपाली हुन आउँछ। विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उक्त वित्तीय सहायता गर्ने निर्णय गरेको हो।