मोतीराम भट्ट भन्नेबित्तिकै शिर श्रद्धाले झुक्छ भने मन नमीठो हुन्छ । किनकि उनले छोटो जीवनभित्रै गर्न भ्याएका कालजयी काम सम्झँदा जुनसुकै नेपालीको पनि शिर श्रद्धाले झुक्नु स्वाभाविकै हो तर त्यस्ता होनहार प्रतिभाले ३० वर्षभन्दा बढी बाँच्न नपाउनुको विडम्बना चित्त दुखाउने विषय हो । वि.सं. १९२३ को कुशेऔँसीका दिन काठमाडौँको भोसिकोटोलमा जन्मिएका मोतीरामको ३० वर्षको युवावस्थामै वि.सं. १९५३ को कुशेऔँसी तिथिमै निधन भयो । जन्म र मृत्यु एउटै तिथिमा हुनु विरलै पाइने संयोग हो । भगवान् बुद्धको पनि यस्तै संयोग मिलेको थियो– वैशाख पूर्णिमा तिथिमा । मोतीरामले छोटो जीवनमा नेपाली भाषा, साहित्य, सङ्गीत, कला, पत्रकारिता आदि क्षेत्रमा जे जति काम गरेर गए, त्यति काम गर्न अरू मानिसले पूर्ण आयुको जीवनमा पनि भ्याउँदैनन् ।
नेपालमा जहानियाँ राणाशासनको कारण सर्वसाधारणका लागि शिक्षादीक्षाको राम्रो व्यवस्था नभएको अवस्था भएकाले उनलाई छ वर्षकै बाल्यकालमा भारतको बनारसमा पिताको साथमा रही पढ्न पठाइयो । उनले बनारसमा रहेर त्यहाँ उपलब्ध शिक्षा, बहुभाषा, सङ्गीत, कला, चित्रकारिता आदि सीप सिके । एक प्रतिभाशाली छात्र भएका कारण उनको सिकाइ र बुझाइ गहन थियो । उनी बनारस र केही समय कोलकातामा रहे पनि बेलाबेलामा काठमाडौँ आउने–जाने गर्दथे । अहिलेको जस्तो अत्याधुनिक र दु्रतगतिका यातायातका साधन उपलब्ध नभए तापनि उनको काठमाडौँसँगको सम्पर्क टुटेको थिएन । यद्यपि मोतीरामको प्रवास जीवनका धेरै तथ्य अहिलेसम्म पनि अज्ञात नै छन् । राज्यस्तरबाट वा कुनै प्राज्ञिक क्षेत्रबाट विशेषगरी उनले लामो समय बिताएका बनारसमा गहन अध्ययन अनुसन्धान गर्ने हो भने महìवपूर्ण ऐतिहासिक तथ्यहरू प्राप्त गर्न सकिने सम्भावना अझै समाप्त भएको छैन । इच्छाशक्तियुक्त जमर्कोको अभावमा त्यस्ता सम्भावना दिनदिनै क्षीण हुँदै गइरहेका छन् ।